जनकपुरधाम साउन २६ । खडेरीको असर झेलेको मधेस प्रदेशमा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार प्रदेशको पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये दुई लाख ८५ हजार ३३५ हेक्टरमा धान रोपाइँ सम्पन्न भइसकेको छ।
सबैभन्दा बढी बारामा ९५ प्रतिशत, जबकि सबैभन्दा कम महोत्तरीमा ६१।५ प्रतिशत मात्रै रोपाइँ भएको छ। पर्याप्त वर्षा नभए पनि किसानहरूले बोरिङ, नहर र नदीहरूबाट सिँचाइ गरी रोपाइँलाई गति दिएको यादवले बताए। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोसी, र सर्लाही तथा रौतहटमा वाग्मती नदीमार्फत सिँचाइ भएको थियो। तर, धनुषामा कमला नदी सुक्दा रोपाइँ प्रभावित भएको छ।
यो वर्ष प्रदेशभरि अधिकतम ८० प्रतिशत रोपाइँ मात्र हुने अनुमान गरिएको छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा झन्डै २७ प्रतिशत कमी आउने सम्भावना रहेको निर्देशक यादवले जानकारी दिए। कृषि विज्ञहरूका अनुसार समयमै रोपाइँ नहुनु खाद्य सुरक्षा र किसानको आम्दानी दुवैका लागि चुनौती बन्न सक्छ।
