महोत्तरीमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न, किसान उत्साहित

महोत्तरी साउन २४ । लामो समय खडेरीले थलिएको महोत्तरीको धान खेतीमा साउन तेस्रो सातादेखि नयाँ जीवन साँचिएको छ। असारमा निराश किसान अहिले खेतमा हरियाली देख्न थालेका छन्। पछिल्ला दिनहरूमा वर्षा अनुकूल बन्दा धान रोपाइँ ६० प्रतिशतको हाराहारीमा पुगेको छ।

साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि सीमित रहेको रोपाइँ अहिले २५ हजार ७०० हेक्टर जमिनमा सम्पन्न भइसकेको छ, जुन ५७ प्रतिशतभन्दा बढी हो। कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार साउन मसान्तसम्म यो आँकडा ८० प्रतिशत नाघ्न सक्ने सम्भावना प्रबल छ।

पानीसँगै प्रगति
साउन तेस्रो साताबाट वर्षा सक्रिय भएपछि किसानले इनार, डिपबोरिङ र स्यालोट्युबेलबाट सिँचाइमा सहजता पाएका छन्। आकासे पानीको साथले भूमिगत पानीको उपयोग पनि प्रभावकारी बन्दा थोरै समयमा बढी खेत हिल्याउन सम्भव भएको हो।

किसानहरूको अनुभव
भंगाहा–३ की किसान रामराजी यादव भन्छिन्, “अब त हाम्रो गाउँको अधिकांश रोपाइँ सकिइसक्यो।” उनी बताउँछिन्, “पहिले रोपिएको खेत सुक्दै थियो, अहिले परेकै पानीले लहलहाउँन थालेको छ।”

बर्दिबास–७ का ७० वर्षीय विन्देश्वर यादव भन्छन्, “पहिलेको रोपोलाई परेका पानीले जोगाएको छ, अब धान भित्रिन्छ कि भन्ने आशा पलाएको छ।”

बीउको अभाव र चिन्ता
तर स्थिति पूरै सहज छैन। औरही–७ भोइलका किसान मोहन महतो का अनुसार, समयमै बीउ रोप्न नपाएकोले अझै कलम खरुअन रोप्न नसकिएको छ। “ब्याडमै बीउ सुक्दै गयो, अहिले त बीउ नै अपुग भइरहेको छ,” उनले भने।

खेती तालिका भत्किएको अवस्था
मधेसको पारम्परिक तालिकाअनुसार जेठ तेस्रो सातासम्म बीउ तयार, असार तेस्रोसम्म रोपाइँ, र साउन मसान्तभित्र खरुअन लगाउने मानिन्छ। तर पानी, बीउ र मलको अभावले यस वर्ष तालिका उल्टिएको किसानको गुनासो छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अविरल महतो का अनुसार, “साउन तेस्रो साताबाट वर्षा सुधारिएपछि खेतीमा गति आएको हो। अबका केही दिन वर्षा अनुकूल रह्यो भने रोपाइँ अझै तीव्र हुनेछ।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ