कैलाली साउन २४ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का अध्यक्ष महन्थ ठाकुरले जनताको चाहना भएमा अहिलेको शासन सत्ता एकछिनमै ढल्न सक्ने चेतावनी दिएका छन्। संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजना गरेको ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
राजतन्त्रजस्तै वर्तमान सत्ताको पनि जग कमजोर भएको संकेत गर्दै ठाकुरले भने, “जनताले अस्वीकार गरेपछि राजतन्त्र ढल्यो भने, अहिलेको शासन सत्तासमेत जनताले चाह्यो भने एकछिनमै ढाल्न सक्छ।” उनले थारु र मधेश समुदायले अधिकार र पहिचानका लागि लामो संघर्ष र बलिदान दिए पनि अझैसम्म ती अधिकार सुनिश्चित नभएको गुनासो गरे। “सयौं थारु र मधेशी सपुतहरूले बलिदानी दिए, तर हामीले अधिकार पाएका छैनौं,” ठाकुरले भने।
संघीयता आए पनि जनताले अपेक्षा गरेअनुसारको अधिकार प्राप्त नभएको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक मोर्चाको उद्देश्य पनि त्यही अधिकार प्राप्तिका लागि संघर्ष गर्ने रहेको स्पष्ट पारे। उनको भनाइमा वर्तमान सत्ताको स्थायित्व जनतामाथिको उत्तरदायित्व र न्यायमा आधारित हुनुपर्नेमा सरकार असफल देखिएको संकेत गरिएको छ।
