सप्तरी साउन २३ । सप्तरीको राजगढमा मदिरा नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले छानबिन सुरु गरेको छ। आयोगको मधेश प्रदेश कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन २० गते राति राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा भएको घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिएको हो।
उक्त घटनामा प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय लालुप्रसाद यादवको मृत्यु भएको थियो। प्रहरीले भारततर्फ मदिरा तस्करी हुन लागेको सूचनाको आधारमा कारबाही गर्न खोज्दा झडप भएको र आत्मरक्षाका लागि गोली चलाइएको दाबी गरिएको छ। तर मृतकका आफन्तले सामान्य विवादमा गोली हानिएको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्।
मानव अधिकार आयोगले घटनास्थलमा टोली खटाएको र अनुसन्धानमा सघाउन स्थानीय प्रशासन तथा सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। आयोगका अनुसार, मृतकको बाँच्न पाउने मौलिक अधिकारको हनन भएको भन्दै अनुसन्धान अघि बढाइएको हो। घटनापछि स्थानीयवासीले संघर्ष समिति गठन गरी प्रदर्शन गरेका छन्। प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्बन गर्दै मुद्दा दर्ता गर्न, पीडित परिवारलाई क्षतिपूर्ति र लालु यादवलाई सहिद घोषणा गर्नेलगायतका चारबुँदे माग प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको छ।
यसबीच प्रशासन र मृतक परिवारबीच सहमति भएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीले निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएपछि सहमति सम्भव भएको हो। घटनामा संलग्न प्रहरी निरीक्षकलाई कार्यस्थलबाट हटाइएको जनाइएको छ, तर उच्चस्तरीय छानबिन समिति भने अझै गठन भएको छैन।
