मधेशमा मनसुन सक्रियता संगै रोपाइमा तीव्रता, ७०% पुरा

जनकपुरधाम साउन २२ । मधेश प्रदेशमा मनसुन सक्रिय भएसँगै चार दिनयता रोपाइँ तीव्र गतिमा अगाडि बढिरहेको छ, जसले किसानहरूमा आशा र उत्साह थपेको छ। साउन महिनाको सुरुआतसम्म सुक्खा रहेको तराई क्षेत्रमा शनिबारदेखि वर्षा सुरु भएपछि रोपाइँ कार्य तीव्र बनेको हो। कृषि मन्त्रालयअन्तर्गत खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका अनुसार, प्रदेशभर मंगलबारसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, जुन चार दिनअघि मात्र ५७ प्रतिशत थियो। बारा र पर्सा जिल्लामा गण्डक नहर र स्यालो ट्युबेलमार्फत सिंचाइ सुविधा राम्रो भएकाले क्रमशः ८३ र ८५ प्रतिशत रोपाइँ सकिएको छ।

सिंचाइ सुविधाको प्रभाव

प्रदेशका कृषि अधिकृत अमर मण्डलका अनुसार, सिंचाइ पूर्वाधारको पहुँचले रोपाइँको गति निर्धारण गरेको छ। “पर्सा र बारा जिल्लामा सिंचाइको सुविधा राम्रो भएकाले रोपाइँ अगाडि बढेको हो, तर धनुषा र महोत्तरीजस्ता जिल्लामा अझै पोखरी तथा बोरिङको पानी प्रयोग गरेर खेत हिल्याइँ भइरहेको छ,” उनले बताए।

मनसुन सक्रिय, पूर्वमा बढी वर्षा हुने सम्भावना

मौसमविद् गोविन्द झाका अनुसार, पछिल्लो समय मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहेकाले देशभर वर्षा भइरहेको छ। हालसम्म पश्चिम क्षेत्रमा बढी वर्षा भएको भए पनि बिहीबारदेखि पूर्वमा केन्द्रित वर्षा हुने अनुमान गरिएको छ। भारी वर्षाको सम्भावना कोशी र बागमती क्षेत्रमा देखिएको छ।

जनजीवन सहज, उत्पादन वृद्धि हुने अपेक्षा

वर्षासँगै चापाकलमा पानी आउन थालेपछि स्थानीय जनजीवन सामान्य बन्दै गएको छ। समयमै रोपाइँ सकिएमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने कृषिविद्को अपेक्षा छ। मधेश प्रदेशमा करिब तीन लाख ७२ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ