खडेरीपछि आएको डुबानले रौतहटका किसान झनै मर्कामा

रौतहट साउन २२ । रौतहटका किसानहरूका लागि आशा बोकेर आएको वर्षा केही दिनमै संकटमा परिणत भएको छ। लामो खडेरीपछि सक्रिय बनेको मनसुनले सुरुवाती राहत दिँदै गर्दा, अब त्यसैको असरले फतुवा विजयपुर नगरपालिका–५ अन्तर्गत सन्तपुर दोस्तीया क्षेत्रका करिब ४० बिगाहा धानबाली डुबानमा परेको छ।

स्थानीय किसानहरू – अमिर खान, नथुनी तलेवर, सेराज अन्सारी, नुराईन अन्सारी, आबिद अन्सारी, ताहिर अन्सारी लगायतको खेतमा पानी जमेको छ। पानीको उचित निकासको व्यवस्था नहुँदा खेतबारीमा पानी थुनिँदै गएको र त्यसले बाली सखाप बनाउने खतरा निम्त्याएको छ।

किसान अमिर खानका अनुसार, “पहिले बाटोको होम पाइपमार्फत पानी निकास हुँदै आएको थियो, तर अहिले त्यो मुहान बन्द भएपछि सारा बाली डुबेको छ।” कटहरिया–सन्तपुर–कलैया सडक खण्ड नजिकको क्षेत्र डुबानको मुख्य चपेटामा परेको छ। पानी निकास नहुँदा खेत मात्र होइन, पूर्वतर्फका बस्तीहरूमा पनि पानी पस्न थालेको स्थानीयले बताएका छन्।

एक बासिन्दाको भनाइमा, “रातभर पानीको डरले निद्रा लागेन। धान जोगाउने उपाय नै निस्कँदैन जस्तो छ। फेरि भारी वर्षा भयो भने घरमै पानी पसी खाद्यान्न नै डुब्ने चिन्ता छ।”

वडाध्यक्ष एजाज अहमदका अनुसार समस्या समाधानका लागि सर्वदलीय बैठकको आयोजना गरिएको छ।
उनले भने, “समाजसेवी, बुद्धिजीवी र राजनीतिक दलहरूको सहभागितामा छलफल भएको छ। आजै ठोस समाधानतर्फ अघि बढ्ने निर्णय लिइँदैछ।” पछिल्लो समयको मौसमी असन्तुलनले रौतहटका कृषि प्रणालीमा गम्भीर असर पारेको छ। जहाँ मनसुनले खडेरीको राहत दिनुपर्ने थियो, त्यसले उल्टै डुबान र बाली विनाशको समस्या निम्त्याएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ