काठमाडौँ साउन २२ । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र नेपालको प्रत्येक नागरिकसम्म जोखिमको पूर्वसूचना पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज काठमाडौँमा आयोजित ूसबैका लागि पूर्वसूचनाू राष्ट्रिय कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले जलवायु र प्राकृतिक जोखिमको सामना गर्न पूर्वसूचना प्रणालीलाई सबैका लागि सहज बनाइने स्पष्ट पारे। उनले भने, “नेपालमा हाल एक तिहाइ जनसंख्या मात्र यस्तो सूचना प्रणालीभित्र छन्। तर हामीले यो अवस्थालाई परिवर्तन गर्दै २०३० सम्म सबैलाई सूचना दिने वातावरण बनाउँछौं।”
संयुक्त राष्ट्रसंघले सन् २०२२ मा घोषणा गरेको Early Warning For All अभियान अन्तर्गत सन् २०२७ भित्र कम्तीमा एक तिहाइ जनसंख्याले पूर्वसूचना पाउनुपर्ने लक्ष्य तोकेको स्मरण गराउँदै गृहमन्त्री लेखकले थपे, “हामी केही पछि परे पनि अबको पाँच वर्षमा हरेक नेपाली नागरिक पूर्वसूचना प्रणालीमा पहुँच हुने गरी काम अघि बढाउँदैछौं।”
उनका अनुसार जोखिम न्यूनिकरण, समयमै सूचना प्रवाह, तथा जोगिन सकिने क्षति घटाउने प्रयासको केन्द्रमा नागरिक हुनेछन्। मन्त्रालयले अहिले त्यसका लागि स्पष्ट मार्गचित्र तयार गरिरहेको पनि उनले जानकारी दिए।
