जमानतमा रिहाइको माग गर्दै लामिछानेको अदालतमा निवेदन

काठमाडौँ साउन २२ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न अदालतमा निवेदन दिएका छन्।

लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराउँदै बैंक जमानतको आधारमा थुनामुक्त गराउन आग्रह गरेका हुन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार आफूले बिगो बराबरको जमानत बुझाउन तयार रहेको जनाउँदै रिहाइको माग गरिएको हो। दफा ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सकिने व्यवस्था छ भने दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा थुनामा वा जमानतमा राख्न सकिने प्रावधान उल्लेख छ।

लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै, “जमानतमा छोड्न सकिने अवस्था भएको” उल्लेख गरेका छन्। निवेदनमा मंगलबार र बुधबार पेसी तोकिए पनि बुधबार सुनुवाइ हुन सकेन। लामिछानेका कानुनी प्रतिनिधिले निवेदन दिएर म्याद स्थगन गराएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ