सर्लाही साउन २१ । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित मिर्चैयामा टायरगाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक २१ वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए। यादवले चलाएको बा।५ प २२०८ नम्बरको मोटरसाइकल टायरगाडासँग ठोक्किएपछि गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै लगिए पनि ज्यान जोगाउन सकिएन।
यादवको शव हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टायरगाडीमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किएको हो। दुर्घटनापछि आक्रोशित स्थानीयबासीले मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरेका थिए। बिहान केही समय तनावपूर्ण बनेको अवस्था अहिले सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
