तेस्रो LLDC सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री ओली आजै सम्बोधनमा

तुर्कमेनिस्तान साउन २० । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन सोमबारदेखि तुर्कमेनिस्तानको राजधानी आवाजामा सुरु भएको छ। सम्मेलनमा सहभागी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गरेका थिए।

आवाजास्थित स्पोर्ट्स कम्प्लेक्समा भएको उद्घाटन सत्रमा महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरूको समस्यालाई अन्तर्राष्ट्रिय समन्वय, सहकार्य र समर्थनमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए। तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण–दक्षिण सहकार्य, संसदीय मञ्च, युवा तथा नागरिक सञ्जालको सक्रियताले आर्थिक–सामाजिक चुनौती समाधान गर्न सकिने धारणा राखे।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटन सत्रमा सम्बोधन गरेका थिए। सम्मेलनको प्लेनरी सत्र पर्यटकीय भवनमा सुरु भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा सहभागी हुन पुगेका छन् र आजै उनले सम्मेलनलाई सम्बोधन गर्नेछन्। उनी अल्पविकसित राष्ट्रहरूको तर्फबाट समेत बोल्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय गरिएको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा। दिव्यासिंह शाह र परराष्ट्र सचिव अमृतबहादुर राई सहभागी छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूले समुद्र नहुँदा अन्तर्राष्ट्रिय व्यापार र यातायात पहुँचमा भोगिरहेको असुविधालाई सम्बोधन गर्ने उद्देश्यले यो सम्मेलनलाई विशेष महत्व दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ