काठमाडौँ साउन २० । लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई छुट्टाछुट्टै दिन नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल रहेका छन्।
१७ साउनमा लाओसबाट बैंकक हुँदै काठमाडौँ आइपुगेका फिरोजलाई विमानस्थलको अराइभल एरियाबाट ४ किलो सेतो हेरोइनसहित पक्राउ गरिएको थियो। भोलिपल्ट, १८ साउनमा सोही मार्ग हुँदै आएका भेललाई पनि ३ किलो ८ सय ग्राम सेतो हेरोइनसहित विमानस्थलमै नियन्त्रणमा लिइएको लागुऔषध ब्यूरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।
दुवैजनाले लागूऔषध लुकाएर नेपाल भित्र्याउने प्रयास गरेका थिए। पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
