काठमाडौँ साउन २० । राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गत वर्षको तुलनामा करिब ९ प्रतिशतले सुधार आएको छ। यस वर्ष ६१।१७ प्रतिशत विद्यार्थी पास भएका छन् भने गएको वर्ष यो संख्या ५२।९१ प्रतिशत थियो। कुल ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४ सय ६५ विद्यार्थीले पूर्ण ग्रेड प्राप्त गरेका छन्। आंशिकतर्फ परीक्षामा सहभागी १ लाख १४ हजार ६ सय ४० मध्ये ४१ हजार ८ सय ४० विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्ष नियमित र आंशिक गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको छ। सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २ लाख ८४ हजार ३ सय ५ रहेको छ। ग्रेड वितरण अनुसार १३ हजार ५ सय २ विद्यार्थीले ३।६१ देखि ४।०० जीपीए, ५५ हजार ८ सय ९६ विद्यार्थीले ३।२१ देखि ३।६० जीपीए र ९४ हजार २ सय ६८ विद्यार्थीले २।८१ देखि ३।२० जीपीए प्राप्त गरेका छन्।
६९ हजार ८ सय १२ विद्यार्थीले २।४१ देखि २।८० र ८ हजार ९ सय ६४ विद्यार्थीले २।०१ देखि २।४० जीपीए ल्याएका छन्। ननग्रेड विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक परीक्षा सञ्चालन गरिनेछ। दुई विषयमा ननग्रेड वा बढीमा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ।
