सप्तरी साउन २० । जनता समाजवादी पार्टी जसपा, नेपाल सप्तरीको जिल्ला अध्यक्षमा केदार यादव पुनः निर्वाचित भएका छन्। मंगलबार राजविराजमा सम्पन्न मतदानमा यादवले आफ्ना प्रतिस्पर्धी उमेश यादवलाई ३० मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन्।
जसपा नेपालका अनुसार अध्यक्ष पदका लागि ५०४ मत खसेको थियो। तीमध्ये २३५ मत प्राप्त गर्दै केदार यादव विजयी भएका हुन्। यसअघि पनि यादव पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए। अधिवेशनपछि भएको निर्वाचनमार्फत उनले पुनः नेतृत्व पाएका हुन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले साउन १४ गते अधिवेशन उद्घाटन गरेका थिए।
अन्य विजयी पदाधिकारीहरूमा जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव, सचिवमा नीरज मुक्ति ९१ मतको झिनो अन्तरले, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव तथा कोषाध्यक्षमा अमरेन्द्र यादव रहेका छन्। जिल्ला कार्यसमिति सदस्यहरूको मतगणना आज दिउँसोदेखि सुरु हुने जनाएको छ।
