हलेसी दर्शनपछि फर्कंदै गर्दा जीप दुर्घटना, एकको मृत्यु पुष्टि

जनकपुरधाम साउन १९ । हलेसी महादेवको दर्शन गरेर सिरहा फर्किंदै गरेको यात्रुबाहक गाडी सोमबार बिहान खोटाङमा दुर्घटनामा परेको छ। दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

सिरहाको नरहा नगरपालिका–५ का दर्शनार्थी बोकेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोला नजिक अनियन्त्रित भई झण्डै २०० मिटर तल खसेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकको सनाखत अझै नभइसकेको जनाइएको छ। घाइते तीन जनालाई एम्बुलेन्समार्फत नजिकको घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक सुशान्त मिश्रका अनुसार गाडीमा करिब १७ जना यात्रु सवार थिए भन्ने प्रारम्भिक अनुमान छ। दुर्घटनाबारे विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा खटिएको छ भने थप उद्धार तथा अनुसन्धान कार्य जारी छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ