रौतहट साउन १७ । भारतीय सिमानासँग जोडिएको रौतहटको ईशनाथ नगरपालिका–२ केराबारीस्थित बनाना रिसोर्टमा शनिबार बिहान पौने चार बजे भीषण आगलागी भएको छ। आगलागीले रिसोर्टमा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ भने करिब ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
बनाना रिसोर्ट नेपाल सरकार र श्री जौहरीमाई कृषि तथा सहकारी संस्थाको साझेदारीमा निर्माण भएको थियो। निर्माण खर्चमा आधा नेपाल सरकार र आधा निजी लगानी रहेको बताइएको छ। आगलागीबाट कृषि उपकरण, खाद्यान्न, फर्निचर, फ्रिज तथा इलेक्ट्रोनिक सामग्री लगायत करिब १५ लाख रुपैयाँ मूल्य बराबरको महत्वपूर्ण सामग्री नष्ट भएको छ।
घटनास्थलमा स्थानीय सशस्त्र प्रहरी बल, ईशनाथ प्रहरी चौकी, नगरपालिकाको दमकल टोली र स्थानिय जनता सक्रिय भएर आगो नियन्त्रणमा लिएका थिए। प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए। बनाना रिसोर्ट सञ्चालनमा आएको दिनदेखि नै नेपाली तथा भारतीय ग्राहकहरूको आकर्षणको केन्द्र बनेको थियो। यहाँ विशेष गरी केराको विभिन्न परिकारहरू तयार हुँदै आएका थिए।
