खानेपानी अभाव कम गर्न लहानमा ट्याङ्की सेवा सञ्चालन

सिरहा साउन १७ । लहान नगरपालिका–२४ खेसराहा टोलमा चरम खानेपानी अभावका कारण शुक्रबार साँझदेखि ट्याङ्कीमार्फत पानी वितरण सुरु गरिएको छ। विशेष गरी उत्तरी भेगका बस्तीहरूमा चापाकल सुकेपछि दैनिक आवश्यक पानी अभावमा परेका स्थानीयवासीका लागि बोलेरोमा ट्याङ्की बोकेर घरदैलोमा पानी पुर्‍याउन थालिएको छ।

‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले लहान खानेपानी संस्थानसँग समन्वय गर्दै दुई हजार लिटर क्षमताको ट्याङ्कीमार्फत पानी वितरणको काम सुरु गरेको हो। नगरप्रमुख महेशप्रसाद चौधरीले स्वयं खेसराहा पुगेर पानी वितरण गर्दै भने, “खानेपानी मानव जीवनको आधार हो। आगामी तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ। आवश्यक परेमा यो कार्यक्रम लम्ब्याउने योजना छ।”

खानेपानी अभावबाट प्रभावित खेसराहा टोलका करिब ६० घरपरिवारलाई गाग्री र बाल्टिनमा पानी पुर्‍याउने व्यवस्था गरिएको छ। दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुङ्केले भने, “विकन परियोजनाले रु २० लाख विनियोजन गरेको छ र तीन महिनासम्म पानी वितरण निरन्तर गरिनेछ।” स्थानीय पूर्णबहादुर सार्कीले भने, “शुद्ध पिउने पानी पाउँदा राहत मिलेको छ। तर लुगा धुन, नुहाउन र पशुपालनका लागि अझै पानीको समस्या छ। हामी आकाशे पानीको प्रतिक्षा गरिरहेका छौँ।”

लहानका विभिन्न वडाहरूमा पानी संकट जारी छ। खडेरीको प्रभावले इनार, पोखरी, हाते कल र सिँचाइ मोटरहरू सबै सुक्न थालेका छन्। ६५ वर्षीय कृषक जगबीर यादव भन्छन्, “६ दशकमा यस्तो खडेरी देखिएको थिएन। सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके।” पर्यावरणविद् दिनेश यादवले भने, “पानीको दीर्घकालीन समाधानका लागि चुरे क्षेत्रको संरक्षण अत्यावश्यक छ।” नगरपालिकाले आवश्यकतालाई मध्यनजर गर्दै अन्य प्रभावित क्षेत्रहरूमा समेत पानी वितरण विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ