बारा साउन १६ । बारागढी गाउँपालिका–३ सुन्दरपुरमा ऐलानी जग्गा विवादले हिंसात्मक रूप लिँदै घेरा हालेर कोदालो प्रहार गरिएको गम्भीर आरोपसहित सात जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरिएको छ। घटनामा गम्भीर घाइते भएका रामएकवाल चौधरी हाल काठमाडौंको न्युरो अस्पतालमा उपचाररत छन्। उनको टाउकोमा कोदालो प्रहार गरिएको र छोरा दिपेन्द्र चौधरी समेत घाइते भएको पीडित पक्षले जनाएको छ।
कोदालो प्रहारको आरोप, प्रतिवादी खुलेआम
पीडित रामएकवालका दाजु चन्देश्वर चौधरीका अनुसार, घटनामा संलग्न भनिएका सात जना खुलेआम गाउँमै हिँडिरहेका छन्, तर कसैलाई प्रहरीले पक्राउ गरेको छैन। “प्रहरीले दुई लाख रुपैयाँ प्रतिवादीहरूसँग उठाएर उपचारमा सहयोग गर्ने भनेको थियो, तर अहिलेसम्म केही भएको छैन,” चन्देश्वरको गुनासो छ।
घटनाको पृष्ठभूमि स् दुई दशकको जोतभोगमा विवाद
२५ असारको दिउँसो साढे १२ बजे, रामएकवाल चौधरी आफैंले २० वर्षदेखि जोतभोग गर्दै आएको ऐलानी जग्गामा पुगेका बेला विवाद सुरु भएको हो। जलिम अख्तर मियाले जग्गा आफ्नो दाबी गर्दै अन्यलाई बोलाएर घेराबन्दी गरेका थिए। त्यसक्रममा शिवचन्द्र यादवले रामएकवालको टाउकोमा कोदालो प्रहार गरेको उजुरीमा उल्लेख छ।
प्रहरी उदासीन
जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सन्तोष तामाङले भने घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्। तर उजुरीकर्ताहरूले प्रहरीको उदासीनता र ढिलासुस्तीमाथि प्रश्न उठाएका छन्।
जाहेरीमा नाम समेटिएका आरोपीहरू
बिहारी पण्डित ४७ वर्ष
गोरख पण्डित ४० वर्ष
ओकिल मिया ६० वर्ष
जमिल अख्तर मिया ३० वर्ष
शिवचन्द्र यादव ४१ वर्ष
सलाउदिन मिया ३० वर्ष
अलाउदिन मिया २५ वर्ष
आर्थिक अभावले उपचार पनि चुनौती
रामएकवालको परिवारले औषधि किन्न समेत नसक्ने अवस्था भएको बताउँदै उपचारमा सरकारी वा निजी सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ। उनीहरूको भनाइमा, घटना गम्भीर अपराधको रूप लिए पनि प्रहरी प्रशासनको निष्क्रियताले पीडितको न्यायप्राप्तिमा गम्भीर चुनौती उत्पन्न भएको छ।
