काठमाडौँ साउन १५ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालको संविधान र सरकारी प्रयासले महिला–पुरुषबीच समानता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। बिहीबार राजधानीमा आयोजित ‘नेपालले सिड रिपोर्टमा के पठाउँदै छरु’ विषयक छलफल कार्यक्रममा मन्त्री साहले नेपालको महिला अधिकार क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे।
मन्त्री साहले भने, “हाम्रो संविधानले महिला र पुरुषलाई समान अधिकार र अवसर सुनिश्चित गर्न ठोस काम गरेको छ। हामीले मधेस प्रदेशमा ५० प्रतिशत महिलालाई लोकसेवा आयोगमार्फत आरक्षण दिलाउन ऐतिहासिक कदम चालेका छौं।”
उनले आफ्नो मन्त्रालयले दुईवटा समितिहरू गठन गरेको र त्यसमा सिडको सेन्ट्रल कमिटीमा २३ सदस्य रहेको, जसमा नेपालका एकजना प्रतिनिधि पनि रहेका छन्, जानकारी दिए। उनले महिला सशक्तिकरणमा निरन्तर काम गर्दै आएको पनि उल्लेख गरे।
कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले भने कि कानुन त बनेको भए पनि कार्यान्वयन अझै कमजोर रहेको छ। उनले छाउपडी प्रथा लगायत विकृतिहरू हटाउन प्रभावकारी नीति र सक्रिय क्रियाकलाप आवश्यक रहेको बताए। कार्यक्रममा सहभागी सांसदहरूले पनि महिला अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न सिड रिपोर्टमार्फत अन्तर्राष्ट्रिय समुदायसामु नेपालको प्रतिबद्धता अझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।





