काठमाडौं, साउन १२ — मधेस प्रदेशमा आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म करिब ४६ प्रतिशत भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ। लामो समयदेखि चरम खडेरीको सामना गरिरहेको क्षेत्रमा परेको वर्षाले केही राहत त दिएको छ, तर समस्या समाधान हुने अवस्था भने देखिएको छैन।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल का अनुसार, ूपर्याप्त वर्षा हुन सकेन। थोरै पानीले वातावरणमा रहेको छारोलाई मेटेको छ, तर यसले सिँचाइ र खानेपानीको संकट टार्न सक्दैन। उनले मधेसको माटो अत्यधिक सुक्खा भएकाले प्रभावकारी सुधारका लागि निरन्तर वर्षा आवश्यक रहेको बताइन्।
थोरै वर्षाले तापक्रममा केही गिरावट आए पनि मधेसमा अझै वर्षाको सम्भावना कम रहेको विभागको पूर्वानुमान छ। आज दिउँसो र राति मधेसमा वर्षा नहुने देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा आज दिउँसो र राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशको तराई तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ। आज पनि गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना कायम छ। वर्षा नपर्दा कृषिकर्म र दैनन्दिन जीवनमा असर परिरहेको मधेसवासीलाई तत्काल ठूलो राहत मिल्ने अवस्था नरहेको प्रष्ट देखिएको छ।
