बागमती, मधेस र कोशी प्रदेशमा बिहीबारदेखि मोन्था चक्रवातको असर

काठमाडौँ कार्तिक १३ । केन्द्रीय मौसम पूर्वानुमान महाशाखाले मोन्था चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालमा रहने जनाएको छ। उक्त चक्रवातको कारण बागमती, मधेस र कोशी प्रदेशको मौसममा उल्लेख्य परिवर्तन देखिने महाशाखाले बताएको हो।

पूर्वानुमान अनुसार, मधेस र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ। मधेस र कोशीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। चक्रवातको प्रभावले कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात र केही ठाउँमा भारी हिमपात समेत हुन सक्ने चेतावनी दिइएको छ।

महाशाखाले हालको विश्लेषणका आधारमा भनेको छ— बागमती, कमला, कोशी र कन्काई नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तहसम्म पुग्न सक्ने सम्भावना छ। कोशी, बागमती र मधेस प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बग्ने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ। विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका स–साना नदीमा आकस्मिक बहावको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सबै निकाय र सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्दै भनेको छ,

“चक्रवातको सम्भावित प्रभावका कारण वर्षा, हिमपात र पहिरोको जोखिम बढ्न सक्छ। यसले दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा समेत असर पुर्‍याउन सक्छ, त्यसैले विभागले जारी गर्ने अद्यावधिक सूचना निरन्तर प्राप्त गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछ।”

प्रतिक्रिया
सम्बन्धित खवर