सर्लाही असोज १९ । सर्लाहीको बसवरिया गाउँपालिका अन्तर्गत मनुसमारा क्षेत्रमा पछिल्लो २४ घण्टामा २२३.६ मिलिमिटर भारी वर्षा मापन गरिएको छ। लगातारको वर्षाले साना खोला, कुलो तथा जरुवा सिँचाइ प्रणालीहरूमा पानीको सतह तीव्र रूपमा बढेको जलस्रोत तथा मौसम कार्यालयले जनाएको छ। यस्तै, जिल्ला सदरमुकाम मलंगवामा पनि २१५.४ मिलिमिटर पानी परेको छ। पानी पर्न अझै नरोकिने पूर्वानुमानसँगै बाढी र डुबानको सम्भावनाले जिल्लावासी चिन्तित छन्।
जोखिम बढेपछि बागमती सिँचाइ ब्यारेजका सबै ढोका खोलियो
लगातारको वर्षाले बागमती नदीमा पानीको बहाव बढेपछि बागमती सिँचाइ आयोजना अन्तर्गतको ब्यारेजका ३५ वटै ढोका खोलिएको छ। आयोजनाका इञ्जिनियर अभिमन्यु चौधरीका अनुसार, सर्लाही र रौतहट तर्फको नहरहरू बन्द गरी सिधै पानी खोलातर्फ पठाइएको छ। पधेरेदोभान स्थित जलमापन केन्द्रअनुसार बागमतीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ। यो सतह अझै खतरा सीमाभन्दा कम भए पनि ६ मिटरलाई सतर्कता तह र ६.८ मिटरलाई पूर्ण खतरा तह मानिने भएकोले जोखिम कायमै रहेको जनाइएको छ। इञ्जिनियर चौधरीका अनुसार, यदि पानीको बहावले खतरा तह पार गर्यो भने ब्यारेज तथा ड्याम संरचनामा क्षति पुग्न सक्ने सम्भावना छ। यस्तो अवस्था आउन नदिन आयोजना पक्षले माथिल्लो क्षेत्रमा रहेको सेफ्टी ड्यामु फुटाउने तयारी गर्दै उपकरणहरू तयारी अवस्थामा राखिएको जनाएको छ।
प्रशासनको सतर्कता आग्रह
जिल्ला प्रशासन कार्यालय, सर्लाहीले बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार र होचो भू–भागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ का अनुसार बागमती, लखन्देही, झिम, बाँकेलगायत खोलाहरू आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने तयारी गर्न आग्रह गरिएको छ।
