काठमाडौँ असोज २ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका प्रमुख कमाण्डर गणेशमान सिंहको २८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। काठमाडौँ क्षेत्रपाटीस्थित चाक्सीबारीमा १९७२ कात्तिक २४ गते जन्मेका सिंहको निधन २०५४ असोज २ गते भएको थियो।
जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर सिंहले नेपाली राजनीतिमा त्यागको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने सिफारिस गरेका थिए। उनको स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
