काठमाडौँ असोज २ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भर्चुअल माध्यमबाट मोदीसँग संवाद गरेका हुन्।
वार्तामा प्रधानमन्त्री कार्कीले मोदीलाई ७५औँ जन्मदिनको शुभकामना दिँदै दीर्घायु, स्वस्थ र सफल कार्यकालको कामना गरेकी छिन्। उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै छिमेकी भारतसँगको मित्रता र सहकार्यलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, नेपालको पछिल्लो राजनीतिक अवस्था र समसामयिक घटनाक्रमबारे मोदीलाई जानकारी गराएकी छन्। प्रधानमन्त्री मोदीले पनि कार्कीलाई नयाँ पदमा सफलताको शुभकामना व्यक्त गर्दै भारतले नेपाललाई सधैं सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए। उनले दुवै मुलुकबीचको सम्बन्ध आपसी विश्वास, सम्मान र साझा हितमा आधारित भएर अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। परराष्ट्र मन्त्रालयका अनुसार, वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्यका अवसरहरू, साझा चासोका विषयहरू र क्षेत्रीय सहकार्यका मुद्दाहरूमा व्यापक छलफल भएको थियो।
