जनमत पार्टीमा संकट: ६ शीर्ष नेताको सामूहिक राजीनामा

जनकपुरधाम असोज २ । जनमत पार्टीका वरिष्ठ नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा राजीनामा दिएका छन्। आजैदेखि ती नेताहरू पार्टीका साधारण सदस्य समेत नहुने गरी औपचारिक रूपमा राजीनामा दिएका हुन्।

राजीनामा दिएका नेताहरूमा पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी के सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन्।यी नेताहरूले पार्टी अध्यक्ष डा. सिके राउतलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा नेपालका जटिल परिस्थिति र जनमानसको अपेक्षाअनुसार पार्टी नेतृत्वले आत्मालोचना गर्न असफल भएको आरोप लगाएका छन्। पत्रमा भनिएको छ कि नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गरी नेताहरूले अपमानजनक व्यवहार गरेका छन्।

पत्रमा जनाइएको छ, “नेपालको विकट परिस्थितिलाई दृष्टिगत गर्दै जनभावना अनुरूप पार्टी नेतृत्वलाई आत्मालोचना गर्न र नेतृत्व परिवर्तनका लागि अल्टिमेटम दिइएको थियो। तर, तपाईंको अवहेलनपछि नेतृत्वले जेनजी पुस्ताले दिएको रगतको अपमान गर्दै उल्टै फेसबुकमार्फत अहंकारपूर्ण धारणा सार्वजनिक गर्‍यो, जसले हामीलाई असहज बनाएको छ।” राजीनामा दिने नेताहरूले कुनै पनि पद स्वार्थमा नलाग्ने स्पष्ट गर्दै नयाँ पुस्ता र जनभावनाको अनुरूप जेनजी पुस्ताको नेतृत्वमा रहँदै सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यसअघि ती नेताहरूले अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए भने, अध्यक्ष राउतले त्यसको जवाफमा उल्टै ती नेताहरूलाई नै पार्टीबाट राजीनामा दिन चेतावनी दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ