काठमाडौँ असोज २ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रैबाट समाधान खोजिएको भए अझ राम्रो हुने धारणा राखेका छन्।
आज जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद भवनको अवलोकनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। प्रतिनिधिसभा विघटन नगरी संसदभित्रैबाट समाधान खोज्न सकिएको भए राम्रो हुन्थ्यो, सभामुख घिमिरेले भने। उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूलाई दुःखद भएको उल्लेख गर्दै अहिलेको संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।
सभामुख घिमिरेका अनुसार, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता संवैधानिक अंगमाथि आक्रमण भएको वर्तमान परिस्थितिले गम्भीरता बोकेको छ। उनले अन्तरिम सरकारले देखिएका समस्याहरूको समाधान गर्दै मुलुकलाई स्थायीतर्फ डो(याउनुपर्ने बताए।
