मधेस प्रदेश सभामा जेन्जी आन्दोलनको क्रममा करिब ३० करोडको सम्पत्ति नोक्सानी

जनकपुरधाम भदौ २९ । जेनजी आन्दोलनको क्रममा मधेस प्रदेश सभा सचिवालयमा भएको हिंसात्मक घटनाले करिब ३० करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रदेश सभामुख रामचन्द्र मण्डलले बताएका छन्।

उनका अनुसार प्रदेश सभामा रहेका सातै दलका संसदीय दलका कार्यालय, सभापतिहरूका कार्यकक्ष, सभामुखको कोठा र सचिवालयका अधिकांश शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रदर्शनकारीहरूले कार्यालय क्षेत्र मात्र नभई सवारी साधन र निजी सम्पत्तिमा समेत आक्रमण गरेका छन्, सभामुख मण्डलले भने। सचिवालय अन्तर्गतको एउटा हायस गाडीमा आगजनी गरिएको छ भने सभामुख मण्डलको व्यक्तिगत सवारी साधनको सिसा फुटाइएको छ। कार्यालयभित्र रहेका कम्प्युटर, ल्यापटप, फर्निचर, टेलिभिजन र पंखा जस्ता सामग्रीहरू जलाइएका वा चोरी भएका छन्।

मण्डलले प्रदर्शनकारीहरू आफू बसोबास गर्ने निवासमा समेत प्रवेश गरी झन्डै तीन तोला सुनका गरगहना लुटेको जानकारी दिए। सार्वजनिक मात्र नभई निजी सम्पत्तिमा गरिएको यस्तो आक्रमण अत्यन्त दुःखद् छ, उनले भने। प्रदेश सभा सचिवालयले मिडिया सेन्टरका उपकरणहरू समेत चोरी भएको जानकारी दिएको छ। सभामुख मण्डल हाल जनकपुरधाम बाहिर छन् र फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालयको पुनःसञ्चालनबारे प्रक्रिया अघि बढाइने उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ