काठमाडौँ भदौ २९ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा नेपाली सेनाले सुरक्षित स्थानमा राखेका तत्कालीन मन्त्रीहरू क्रमशः सार्वजनिक रूपमा देखा पर्न थालेका छन्। आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूसहित मन्त्रीहरूलाई नेपाली सेनाले गोप्य रूपमा सुरक्षामा राखेको थियो।
शनिबार बिहान एक निवर्तमान मन्त्रीले आफू हाल गृह जिल्लामा रहेको पुष्टि गरे। “म अहिले गृह जिल्ला छु। केही दिन सैनिक सुरक्षामा रहेँ,” उनले भने, “बाहिर चर्चा चलेजस्तो हामी नियन्त्रणमा थिएनौं। फोन चलाउन, कुरा गर्न पाइएको थियो।”
तर उनी कुन स्थानमा राखिएको थिए भन्ने खुलाएनन्। यो बीचमा आन्दोलनका क्रममा केही मन्त्रीहरूलाई ‘सुरक्षाको कारण’ देखाउँदै सार्वजनिक कार्यक्रममा देखाइएको थिएन। जेनजी आन्दोलनले अस्थिरता निम्त्याएपछि मुलुकको प्रमुख सुरक्षा संयन्त्र नेपाली सेनाले सरकारका प्रमुख पदाधिकारीहरूलाई सुरक्षित स्थानमा सारेर संवेदनशील रणनीति अपनाएको थियो।
