रामवरण यादव भन्छन्: वर्तमान संविधानले जेनजीको चाहना समेट्न सक्छ

जनकपुरधाम भदौ २७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले ‘जेनजी’ आन्दोलनमा उठाइएका मागहरूको सम्बोधन नेपालको वर्तमान संविधानभित्रै सम्भव रहेको स्पष्ट पारेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले संविधान २०७२ को पूर्ण कार्यान्वयन नै आन्दोलनले उठाएका विषयहरू समाधान गर्ने सही बाटो भएको बताएका हुन्। डा. यादवले भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनमा भएको हिंसा, आगजनी, तोडफोड र लुटपाटबाट देश स्तब्ध भएको उल्लेख गर्दै आफू व्यक्तिगत रूपमा अत्यन्त दुःखी र मर्माहत भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

‘उचित माग, अनुचित तरिका’

उनका अनुसार भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र सुशासनजस्ता मागहरू स्वाभाविक र सबै नेपालीको साझा आकांक्षा हुन्। तर आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति र संवैधानिक संरचनामाथि गरिएको क्षति गम्भीर चिन्ताको विषय भएको उनले स्पष्ट पारे। “सिंहदरबार, शीतल निवास, न्यायालय, मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारका संरचनामा भएको तोडफोडको वास्तविक उद्देश्य, कारण र योजनाकारहरू पहिचान गर्नु अब आवश्यक भइसकेको छ,” विज्ञप्तिमा उल्लेख छ।

राजनीतिक अन्योल अन्त्यको अपिल

पूर्वराष्ट्रपतिले आन्दोलनपछि देखा परेको राजनीतिक र प्रशासनिक अन्योल चाँडै अन्त्य गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार र जिम्मेवार निकायहरूलाई आग्रह गरेका छन्। उनले अर्बौंको राजस्व तिर्ने र लाखौंलाई रोजगारी दिने उद्योग–व्यवसायमा गरिएको तोडफोडले अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै त्यसप्रति विशेष संवेदनशील हुनुपर्ने बताए।

संविधानमै समाधानको मार्ग

यादवले वर्तमान संविधानलाई नै समस्याको समाधानको दिशानिर्देशकको रूपमा लिँदै भनेका छन्, “यस प्रकारका समस्याबाट देशलाई बचाउन संविधान र त्यसले दिएको मार्गचित्र नै एक मात्र निरपराध उपाय हो।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ