जनकपुरधाम भदौ २६ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले देश संवेदनशील मोडमा रहेको बताएका छन्। उनले संविधान र संसद भंग गर्ने जुनसुकै प्रयासले देशलाई रिक्तता र अस्थिरताको खतरनाक दलदलमा धकेल्ने चेतावनी दिएका छन्।
संविधानमाथि खेलवाड नगर्न आग्रह
डा। राउतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा संविधान संशोधन आवश्यक हुन सक्छ भनेका छन्, तर निर्वाचन अघि संविधान खारेज गर्ने वा संसद भंग गर्ने कदम राष्ट्रकै अस्तित्वमाथि प्रहार हुने उल्लेख गरेका छन्। दशकौंको आन्दोलन र बलिदानीपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्नै पर्छ, चाहे जसले जस्तो दुष्प्रचार गरे पनि, — डा. सीके राउत
पर्दापछाडि सक्रिय छन् ‘अवसरवादी शक्ति’
उनका अनुसार हालै चर्किएको आन्दोलनको लहरमा पर्दापछि केही अवसरवादी शक्तिहरू सक्रिय छन्, जसले देशलाई फेरि १० वर्षसम्म अस्थिरता र अनिर्णयको भूमरीमा फसाउने खतरा निम्त्याएको छ। संविधान र संसद भंग भए, अर्को दशक संविधान बनाउनमै अल्झाइन्छ, — उनले भने।
अन्तरिम सरकार र निर्वाचनको प्रस्ताव
संविधान बचाउन र स्थायित्व कायम राख्न राउतले अन्तरिम सरकार बनाउने र विद्यमान संसदलाई कायम राख्दै ६ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्ने सुझाव दिएका छन्। अहिले रिक्तता सिर्जना नगरौं, चुनावमार्फत नयाँ जनप्रतिनिधि ल्याऔं, — डा. राउत
उनले आफ्नो सन्देशमा सातबुँदे कार्यक्रमसमेत सार्वजनिक गरेका छन ;
१। कानूनी राज्यको पूर्ण स्थापना — अस्थिरता र त्रास अन्त्य गरी सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने।
२। नेशनल टास्क फोर्स गठन — हरेक परिवारबाट एक स्वयंसेवक परिचालन गरी राष्ट्रियदेखि टोलस्तरसम्म पुनर्निर्माण, विकास र सुशासनमा खटाउने।
३। ट्राइब्यूनल गठन — आन्दोलनमा भएको जनधनको क्षति, हिंसा र भ्रष्टाचार छानबिन गरी सम्पत्ति राष्ट्रियकरण गर्ने र भविष्यमा ‘जिरो टोलेरेन्स’ नीति लागू गर्ने।
४। विश्व समुदायसँग सहकार्य — दातृ संस्था र बहुपक्षीय निकायसँग सहकार्य गरी लगानी सुरक्षित गर्ने र विकासका लागि सहयोग आह्वान गर्ने।
५। पुनर्निर्माण र विकास — युद्धस्तरमा टास्क फोर्स र स्वयंसेवक परिचालित गरी कार्य सुरु गर्ने।
६। उद्योग र रोजगारी प्रवर्द्धन — बेरोजगारी अन्त्य गर्ने खालका कार्यक्रम अघि बढाउने।
७। दश वर्षसम्म सम्पत्ति राष्ट्रियकरणको सम्भावना — नागरिकलाई आत्तिन नपर्ने गरी अस्थायी रूपमा राज्यलाई पूर्ण अभिभावकत्व दिने र दस वर्षपछि सम्पत्ति फिर्ता दिने मोडलबारे छलफल गर्ने।
राउतले आफ्नो सन्देशमा युवा पुस्तालाई सबै वर्ग, समुदाय र भूभागलाई आत्मसात गर्ने खालका निर्णय लिन आग्रह गरेका छन्। उनले भने, ‘देश कुनै निश्चित वर्ग वा समूहको मात्र होइन, मेची–महाकालीदेखि हिमाल, पहाड, तराईसम्म सबैको साझा घर हो।’
