ओलीको सुझाव: विधान संशोधनमाथि असहमति भए समूहगत छलफलमा प्रस्तुत गर्नुस्

काठमाडौँ भदौ २० । नेकपा एमाले को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधन प्रस्तावमा फरक मत र असहमति समूहगत छलफलमार्फत समाधान गर्न अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन्।

शुक्रबारको बन्दसत्रमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बोल्न चाहेका थिए। तर समय व्यवस्थापनको कारण देखाउँदै अध्यक्ष ओलीले फरक मत समूह छलफलमै राख्न अनुरोध गरेका हुन्। ओलीले थापाको मुख्य प्रतिवेदनप्रति कुनै विशेष फरक मत नरहेको उल्लेख गर्दै विधान संशोधन प्रस्तावमाथि समूहहरूमा व्यापक छलफल हुनुपर्ने बताए। उनले प्रतिनिधिहरू हलमै बोल्न चाहने अवस्था आएमा समय व्यवस्थापन गर्न कठिन हुने भन्दै सबैलाई समुहमै गहन छलफल गर्न सुझाव दिए। अध्यक्ष ओलीको भनाइप्रति हलमा तालीमार्फत समर्थन गरिएको थियो।

थापाले ओलीसँग सहमति जनाउँदै आफ्ना धारणा लेखिएको पर्चा हलमा वितरण गरेका छन्। शुक्रबारको सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव र सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले आफ्नो दस्तावेज प्रस्तुत गरेका थिए। शनिबार दोस्रो दिन केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा। पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव बडालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका छन्।

महाधिवेशनमा गठित १० समूहले शनिबारभर ती प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको छ। समूह बहसबाट संकलित नोट प्रस्तुतिका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा समिति बनाइएको छ। महाधिवेशन आइतबार सम्पन्न हुने कार्यतालिका रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ