‘भूमि ऐन मधेसी विरोधी षड्यन्त्र’ : संयुक्त मोर्चाको आरोप

सप्तरी भदौ १९ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमि ऐनलाई मधेसी समुदायविरुद्धको षड्यन्त्रको रूपमा चित्रण गर्दै यसले मधेसीहरूलाई सङ्घर्षमा उत्रन बाध्य बनाएको बताएका छन्।

सप्तरीको राजविराजमा आयोजित सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेसी समुदायको इतिहास नै सङ्घर्षबाट भरिएको बताउँदै भने, “अब मधेसीसँग दुई विकल्प मात्रै छन्— लडेर अधिकार लिनु, वा हराउनु।”

भूमि ऐनमार्फत मधेसलाई मरुभूमि बनाउने प्रयास स् उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि ऐनमाथि थप प्रहार गर्दै यसले तराई–मधेसको उब्जाउ भूमिलाई मरुभूमिमा रूपान्तरण गर्न खोजिएको टिप्पणी गरे। “शासक वर्गले ऐतिहासिक रूपमा मधेसको भूमि कब्जा गर्दै आएको हो, अहिलेको भूमि ऐन त्यही निरन्तरता हो,” उनले आरोप लगाए। उपेन्द्रले निर्वाचन क्षेत्र निर्धारणमा समान जनसंख्या मापनको आधार लागू गर्नुपर्नेमा जोड दिए।

सत्ता गठबन्धनमाथि कडा आलोचना

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्ता गठबन्धनले लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास गरेको आरोप लगाए। उनले उत्पीडित समुदायबीचको ऐक्यबद्धता मात्रले अधिकार सुनिश्चित गर्न सकिने बताए। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले भूमि विधेयकलाई “भूमाफियामैत्री” भन्दै यसको उद्देश्य सुकुम्वासी र मधेसीको हित होइन, तराईलाई मरुभूमि बनाउने भएको दाबी गरे। तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले सरकारमाथि कुशासन र भ्रष्टाचार बढाएको आरोप लगाउँदै आन्दोलनकारीहरूमाथिको झुटा मुद्दा फिर्ता लिन माग गरे।  नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासन अन्त्यका लागि सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

आठ स्थानमा जनजागरण, अर्को कार्यक्रम जनकपुरमा

सङ्घीय लोकतान्त्रिक मोर्चाले जनजागरण अभियानको पहिलो चरणमा देशका आठ स्थानमा कार्यक्रम गर्ने जनाएको छ। आगामी अभियान भदौ २० गते जनकपुरधाममा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ