जनकपुरधाम भदौ १८ । मधेस प्रदेशको पर्सा जिल्लास्थित वीरगञ्जमा फैलिएको हैजा संक्रमण नियन्त्रणमा सरकारले ठोस कदम नचालेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गम्भीर ध्यानाकर्षण गराएको छ।
बुधबार पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले विज्ञप्ति जारी गर्दै दूषित पानी हैजाको प्रमुख कारण भएको उल्लेख गर्दै, पिउने पानीको व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ। “तीन करोडभन्दा कम जनसंख्या भएको देशमा सुरक्षित पानी उपलब्ध गराउन नसक्नु दुर्भाग्यपूर्ण” भन्दै विज्ञप्तिमा सरकारको कमजोरी औंल्याइएको छ। रास्वपाका अनुसार, हैजाले हालसम्म ४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी नागरिक संक्रमित भएका छन्। विज्ञप्तिमा भनिएको छ, “यस्तो विषम परिस्थितिमा पनि सरकारले प्रभावकारी हस्तक्षेप नगर्नु गम्भीर लापरवाही हो।”
संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार असफल भएको भन्दै रास्वपाले सम्बन्धित निकायहरूलाई गम्भीर बन्न आह्वान गरेको छ। पार्टीले आम नागरिकको जीवन र स्वास्थ्यप्रति सदैव प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ।
