जनकपुरधाममा दसैँ सस्तो बजारको तयारी, सर्वपक्षीय छलफल सम्पन्न

जनकपुरधाम भदौ १८ । दसैँको अवसरमा सञ्चालन हुने सुपथ तथा सुलभ बजारबारे जनकपुरधाममा सर्वपक्षीय छलफल सम्पन्न भएको छ। प्रत्येक वर्षझैँ यसपटक पनि बजार सुरु गर्नु अघि स्थानीय व्यापारी, सरोकारवाला निकाय र समुदाय प्रतिनिधिहरूबीच छलफल गरिएको हो।

जनकपुरधाम उद्योग वाणिज्य संघमा बुधबार आयोजित छलफलमा सहभागीहरूले बजार सञ्चालनलाई अनिवार्य र व्यवस्थित बनाउनेमा जोड दिए। तौल, मूल्य र गुणस्तरको निगरानी, साथै स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने सुझावहरू प्रस्तुत गरिए। छलफलमा दसैँ बजारलाई केवल खरिद–बिक्रीको स्थल नभई स्थानीय हस्तकला, सांस्कृतिक सम्पदा र उद्यमशीलताको प्रदर्शन गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरियो। यद्यपि, छलफलमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको अनुपस्थितिप्रति धेरैले असन्तुष्टि जनाए। विगतमा संयोजन समितिको अध्यक्षका रूपमा रहने परम्परा भए पनि यसपटक उनीहरू अनुपस्थित रहे। प्रहरी निरीक्षकसहित केही प्रतिनिधिहरू भने सहभागी थिए।

जनकपुरधामका उपभोक्ताहरू सस्तो र सहज दसैँ बजारको प्रतीक्षा गर्दै आएका छन्। साबुन, अगरबत्ति, खाद्य सामग्री लगायत दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ। छलफलमा भिड नियन्त्रण, ट्राफिक व्यवस्थापन, गुणस्तर अनुगमन र मूल्य नियन्त्रणलाई विशेष प्राथमिकता दिनुपर्ने सुझावहरू पनि उठाइए। कार्यक्रमको अध्यक्षता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले गरेका थिए। छलफलमा स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार र जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ