काठमाडाँ भदौ १६ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पछिल्लो समय जनतामाझ पुनः विश्वास हासिल गर्न थालेको दाबी गरेका छन्।
पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई आइतबार सम्बोधन गर्दै, उनले संगठनलाई रूपान्तरण गर्न सके मात्र त्यो विश्वास दीर्घकालीन उपलब्धिमा बदलिन सक्ने चेतावनी दिएका हुन्। “जनताले फेरि हाम्रोतर्फ आशा देखाउन थालेका छन्,” प्रचण्डले भने, “तर संगठनलाई जीवन्त, अनुशासित र विचारधारात्मक रूपमा स्पष्ट बनाउन नसके हामी फेरि पुरानै त्रुटिमा फर्किन सक्छौं।” उनले केन्द्रीय व्यस्तता र महिलाको राष्ट्रिय सम्मेलनका कारण यसपटक बैठकमा भर्चुअल रूपमा सहभागी हुनुपरेको जनाउँदै दसैंपछि प्रत्यक्ष रूपमा सुदूरपश्चिम पुगेर संवाद गर्ने योजना रहेको जानकारी दिए।
बैठकमा प्रस्तुत जिल्ला संयोजक र इन्चार्जको रिपोर्टिङको प्रशंसा गर्दै, उनले सुदूरपश्चिम प्रदेशमा वैचारिक, सांगठनिक र राजनीतिक सुधारको सकारात्मक संकेत देखिएको उल्लेख गरे। “अब कार्यकर्ताहरू गाउँ–टोलमा पुग्नुपर्छ,” उनले भने, “कमिटी निर्माण, विस्तार र प्रशिक्षण अभियानलाई तिब्रता दिनुपर्ने बेला हो।” साथै, उनले पार्टीभित्र आत्मसमीक्षा, आलोचना र आत्मआलोचनाको संस्कृतिलाई थप बलियो बनाउने आवश्यकता औँल्याउँदै, हरेक नेताले विगतका कमजोरीको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।
