जनकपुरधाम भदौ १५ । पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता, सुख र समृद्धिको कामना गर्दै आज सम्पूर्ण मिथिलाञ्चलमा महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन्।
मिथिला क्षेत्रका गाउँगाउँमा बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा सक्खर हालेर बनाएको पकवान पकाएर, केरा, मकै, काँक्रो, स्याउ लगायत फलफूल, अक्षता, सुपारी र पानसहितका पूजा सामग्री लिएर पर्व मनाउने क्रम सुरु गरेका छन्। जलेश्वर नगरपालिका–१ का बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार, आज बर्तालु महिलाहरू नजिकैको पोखरी, तलाउ वा नदीमा गई सूर्यदेवतालाई अर्घ्य चढाउँदै पूजा गरी रैब पर्व मनाउने परम्परा छ। भदैया रैब पर्व सूर्य देवताको पूजा उपासना गरी मनाइने पर्व हो, जुन भदौ महिनामा मनाइन्छ। महिलाहरू पोखरी वा नदीमा स्नान गरी सूर्यदेवतालाई अर्घ्य चढाउँछन् र घर फर्केर आँगन वा पिँढीमा नेउज प्रसाद हाल्ने परम्परा हुन्छ।
नेउज हाल्ने क्रममा भुइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सक्खर हालेर बनाएको खिर र केरा चढाइन्छ। प्रत्येक परिवारबाट सहभागी संख्या अनुसार नेउज राखिन्छ, र यदि घरका सदस्य बाहिर छन् भने अरूको नाममा पनि नेउज हालिन्छ। पर्व मनाइसकेपछि महिलाहरू फलफूल ग्रहण गर्छन् र राति नुनबिनाको खानपान गरी उपवास भंग गर्ने चलन छ। साथै, मिथिलाञ्चलका धेरै स्थानमा महिलाहरू आइतबार उपवास बसेर छ महिनासम्म रैब पर्व मनाउने चलन छ। जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायका अनुसार, यो पर्व परम्परागत रूपमा सुख, समृद्धि र विशेष गरी आरोग्यताका लागि मनाइन्छ।
