जनकपुरधाम भदौ १४ । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायसँगको भेदभाव अझै कायम रहेको भन्दै यसलाई अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने बताएका छन्। उनले जनकपुरधाममा आयोजित मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै मधेसी समुदायको भेदभावपूर्ण व्यवहारको आलोचना गरे।
अध्यक्ष यादवले भने, मधेसी समुदायको प्रतिनिधित्व सरकारी निकायमा अत्यन्त न्यून छ। यसलाई सुधार्नु पर्छ। उनले मधेसको आर्थिक विकासमा कमी आएको र यहाँका नागरिकहरूको अधिकार अझै उपेक्षित भएको भन्दै यसलाई राज्यको प्राथमिकता बनाउनु पर्ने आवश्यकता औंल्याए। यादवका अनुसार, मधेसी समुदाय नेपालको जनसंख्याको आधाभन्दा बढी हिस्सा बनाउँछ तर प्रतिनिधि सभा र राष्ट्रिय सभामा तिनको प्रतिनिधित्व सीमित छ। उनले विशेष गरी उच्च पदमा मधेसीहरूको भागीदारी अझै कमजोर रहेको र सत्ता साझेदारीमा जनसंख्याका आधारमा समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्।
उनले थपे, भेदभाव कम भएको छ, तर यो समाप्त भएको छैन। शोषण र उत्पीडनको अन्त्य नगरी समाजको समृद्धि सम्भव छैन।
