जनकपुरधाम भदौ १३ । मधेश प्रदेशको बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। त्रुटिपूर्ण बजेट ल्याएको आरोप लगाउँदै अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गरेका विपक्षी दलहरूले बिहीबार पनि सदन सञ्चालन हुन दिएनन्।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक जवाहरलाल कुशवाहाले अर्थमन्त्रीले ल्याएको बजेट अपारदर्शी, बिचौलिया प्रभावित र त्रुटिपूर्ण रहेको भन्दै उनको राजीनामा अपरिहार्य रहेको बताए। “अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न दिइँदैन,” उनले स्पष्ट पारे। यता नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षी दलहरूलाई सर्वदलीय बैठकमा सहभागी नभइ सदनमा अवरोध मात्र गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए। उनले प्रतिपक्षीको व्यवहार “रगरा गर्ने शैली” भएको आरोप लगाए।
स्थिति थप जटिल बन्दै गएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेका छन्। प्रतिपक्षीले दुई दिनदेखि सर्वदलीय बैठकसमेत बहिष्कार गरिरहेका छन्। प्रदेश सरकारको आर्थिक वर्ष २०८२ र ८३ को बजेट बहुमतले पारित गरे पनि विपक्षी दलहरूले त्यसलाई अस्वीकार गर्दै आएको छ। उनीहरूको आरोप छ कि बजेट निर्माणमा पारदर्शिता थिएन, बिचौलियाहरूको हस्तक्षेप देखिएको छ, र सभामुख मण्डलले तटस्थता कायम गर्न सकेनन्।
विरोधमा उत्रिएका दलहरूमा जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टी छन्। यी दलहरूले छैठौँ अधिवेशनको सुरुदेखि नै सदन अवरुद्ध गर्दै आएका छन्।
