काठमाडौँ भदौ १३ । नागरिक उन्मुक्ति पार्टी नाउपा का संस्थापक अध्यक्ष रेशम चौधरीले आफूलाई थारू नेताहरूले जेल पठाएको भनी दिएको अभिव्यक्तिप्रति थरूहट थारुवान संयुक्त संघर्ष समितिले कडा आपत्ति जनाएको छ।
संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै चौधरीको भनाइलाई “गलत, भ्रामक र दुर्भाग्यपूर्ण” भनेको छ। समितिका अनुसार, नेपालको मगर समुदायका अगुवा तथा नेपाल मगर संघका पूर्वअध्यक्ष स्व। गोरेबहादुर खपाङ्गीको स्मृति दिवसको अवसरमा भदौ ११ गते काठमाडौंमा आयोजित कार्यक्रममा रेशम चौधरीले सो अभिव्यक्ति दिएका थिए।
संघर्ष समितिका अध्यक्ष प्रेमीलाल चौधरीले रेशमको टिप्पणी सस्तो लोकप्रियता कमाउने प्रयासमात्र भएको दाबी गरेका छन्। उनका अनुसार, यस्ता आरोपहरूले थारू समुदायभित्र फाटो ल्याउने खतरा रहन्छ र संघर्षको साझा इतिहासलाई कमजोर पार्न सक्छ। संघर्ष समितिले रेशम चौधरीलाई सार्वजनिक रूपमै अभिव्यक्ति फिर्ता लिन र समुदायबीच सौहार्द कायम राख्न आग्रह गरेको छ।
