कटुवा पेस्तोल बोकेका दुई जना सर्लाहीमा गिरफ्तार

सर्लाही भदौ १३ । सर्लाही प्रहरीले अवैध कटुवा पेस्तोलसहित दुई युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गरेको बिआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकल रोकेर सवारी चेकजाँचका क्रममा किशन महरालाई नियन्त्रणमा लिइएको थियो। प्रहरीको प्रारम्भिक सोधपुछमा किशनले बोक्ने गरेको हतियार श्याम महरालाई सुरक्षित राख्न दिएको बताएका थिए। उक्त सूचनाको आधारमा प्रहरीले श्याम महरालाई पनि नियन्त्रणमा लिएको हो।

श्यामको साथबाट बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरमा लुकाइएको नलकटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। हाल दुवैजनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ