जनकपुरधाम भदौ १३ । मधेस प्रदेशका विभिन्न जिल्लामा हैजा संक्रमण झनै तीव्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्र ८४ जना नयाँ संक्रमित पुष्टि भएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार पर्सा सहितका जिल्लामा हैजाका नयाँ केसहरू देखिएका हुन्। यससँगै हाल मधेस प्रदेशमा १८७ जना सक्रिय संक्रमित रहेका छन्। सन् २०२५ अगस्ट ९ यता ६२४ जनामा हैजा संक्रमण देखिएको छ भने ४३७ जना संक्रमित निको भइसकेका छन्। डा. झाका अनुसार नारायणी अस्पतालमा मात्रै ६८ जना संक्रमित उपचाररत छन्, जसमा पछिल्लो २४ घण्टामा ५२ जना नयाँ बिरामी भर्ना भएका छन्। यस्तै, तराई अस्पतालमा ३९ र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेको छ।
साथै, एडभान्स अस्पताल, नेसनल मेडिकल कलेज लगायतका अन्य संस्थाहरूमा पनि हैजा संक्रमितको चाप बढिरहेको चिकित्सकहरूले जनाएका छन्। बारामा हैजाको पहिलो केस फेला परेको पुष्टि भएको छ। संक्रमितको कलैया अस्पतालमा उपचार भइरहेको छ र सो क्षेत्रको विस्तृत अध्ययन सुरु गरिएको डा। झाले बताए। अध्ययनले रोगको स्रोत पत्ता लगाउन र नियन्त्रणमा सहयोग पुर्याउनेछ, उनले भने।
संक्रमणको रोकथामका लागि वीरगन्ज महानगरपालिकाले ग्रामीण क्षेत्रका नालीहरूमा क्लोरिन पाउडर छर्किने अभियान सुरु गरेको छ। स्वास्थ्य अधिकारी र स्थानीय प्रशासन मिलेर हैजा नियन्त्रणका लागि प्रयासरत छन्।
