जनकपुरधाम भदौ ११ । हिन्दू धर्मावलम्बीहरूले आज भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइरहेका छन्। धार्मिक ग्रन्थ अनुसार यसै दिन भगवान् गणेशको प्रादुर्भाव भएको उल्लेख छ।
जनकपुरधामको रामचौकस्थित श्री गणेश युवा कमिटिले गणेश मन्दिरमा विशेष पूजाको आयोजना गरेको छ। मन्दिरलाई रंगीन झल्को दिने गरी सरसजावट गरिएको छ। त्यस्तै रामचौक, जनकचौक र ज्ञानकुप चौकमा पनि विशेष पूजाआराधना र कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। गणेश युवा कमिटीले भदौ महिनाको तीजदेखि पाँच दिनसम्म विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरूको आयोजना गरेको छ। यसमा भगवान् गणेशको पूजा, सन्ध्या आरती, प्रसाद वितरण, साधु भण्डारा, हनुमान आराधना लगायतका कार्यक्रमहरू रहेका छन्।
सुरेन्द्र भण्डारी, पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य संघका अध्यक्ष,ले बताएअनुसार गणेश युवा कमिटीले वि.सं. २०५४ सालदेखि निरन्तर रुपमा यस पर्वको आयोजना गर्दै आएको छ।
