पर्सामा हैजा फैलिएरै जाने खतरा, पोखरियामा समेत संक्रमण देखियो

पर्सा भदौ ११ । पर्सामा हैजा संक्रमणको दायरा फराकिलो बन्दै गएको छ। वीरगञ्ज महानगरपालिकामा संक्रमण फैलिँदै जाँदा अब पोखरिया उपमहानगरपालिका पनि सुरक्षित नरहेको पुष्टि भएको छ।

पोखरिया अस्पतालका अनुसार, मंगलबार झाडापखला लागेर अस्पताल आएका तीन व्यक्तिमा हैजा संक्रमण देखिएको हो। तीमध्ये एक बालक र दुई जना पुरुष छन्। अवस्था जटिल भएका एक बिरामीलाई थप उपचारका लागि वीरगञ्ज स्थानान्तरण गरिएको अस्पतालका मेसु डा। आनन्द रौनियारले जानकारी दिए। संक्रमित तीनै जना केही दिनअघि मात्र वीरगञ्जबाट पोखरिया आएका थिए। त्यसैले संक्रमण वीरगञ्जबाट सरेको अनुमान गरिएको छ। अस्पतालले जनाएको छ कि हाल दैनिक सातभन्दा बढी झाडापखलाका बिरामी पोखरिया अस्पतालमा आउन थालेका छन्। यसले हैजा संक्रमण थप फैलिने जोखिम औँल्याएको छ।

वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रण बाहिर

यसबीच, वीरगञ्ज महानगरमा हैजाका संक्रमितको संख्या ११५ पुगेको छ। मंगलबार साँझदेखि बुधबार बिहान १० बजेसम्म थप १ जनामा संक्रमण पुष्टि भएको हो। महानगर स्वास्थ्य महाशाखाका अनुसार हालसम्म २२७ जना बिरामी निको भएर घर फर्किसकेका छन् भने ३८ जना आईसीयूमा र ३ जना एचडीसीयूमा उपचाररत छन्। शुक्रबारयता ४९३ जनाले झाडापखलाको लक्षणसहित वीरगञ्जका विभिन्न अस्पतालमा उपचार लिएका छन्।

जनस्वास्थ्य सतर्कता आवश्यक

स्वास्थ्यकर्मीहरूका अनुसार, हैजाको संक्रमणलाई नियन्त्रण गर्न सघन निगरानी, सरसफाइ, सुरक्षित खानेपानी र जनचेतना अभियान तीव्र पार्न आवश्यक छ। संक्रमितहरू विभिन्न स्थानमा ओहोरदोहोर गरिरहेकाले अन्य नगररगाउँपालिकामा पनि जोखिम बढेको विज्ञहरूको चेतावनी छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ