काठमाडौँ भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन्। तीजको अवसरमा जारी शुभकामना सन्देशमा उनले प्रचलित धारणालाई चुनौती दिँदै तीजलाई केवल गीत–नृत्यको पर्वको रूपमा सीमित गर्नु उचित नभएको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले भनेका छन्, “तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ, तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन थियो, जसले दाम्पत्य जीवनलाई सुदृढ बनाउँथ्यो।” उहाँले थप्नुभयो कि संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवको रूपमा लिएको छ। साथै, विज्ञानले पनि व्रतले स्वास्थ्यमा फाइदा पुर्याउने पुष्टि गरेको कुरा प्रष्ट पार्नुभयो।
प्रधानमन्त्रीले शुभकामना सन्देशमा सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना दिंदै यस पर्वले परिवारमा आत्मीयता र समाजमा सौहार्द फैलाओस् भन्ने कामना व्यक्त गर्नुभएको छ।
