जनकपुरधाम भदौ १० । मिथिला क्षेत्रका गाउँबस्तीमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व धुमधामसँग मनाइँदैछ। श्रद्धा र आस्थाको प्रतीक मानिने यस पर्वमा आज राति विशेष रूपमा चन्द्रमाको पूजा गरिन्छ।
व्रतालु महिलाहरूले दिनभर निराहार उपवास बसेर चन्द्रमाको पूजापछि अन्न र जल ग्रहण गर्ने परम्परा छ। जलेश्वर नगरपालिका–८ की व्रतालु राजवतीदेवीका अनुसार, चौरचन पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन प्रचलित छ। मिथिलाञ्चलका ग्रामीण क्षेत्रमा यो पर्वलाई ‘चौरचनपर्व’ भनेर चिनिन्छ भने कतिपय स्थानमा यसलाई ‘चौठचन्द्र पर्व’ पनि भनिन्छ।
यस पर्वले मिथिला समाजमा धार्मिक आस्था र सांस्कृतिक एकतालाई मजबुत बनाउने विश्वास गरिएको छ।
