काठमाडौँ भदौ १० । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने आवश्यकता औँल्याएका छन्।
तीज पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली महिलाहरूले परापूर्वकालदेखि मनाउँदै आएको तीजको मौलिक पक्ष जोगाउँदै आधुनिक सामाजिक परिवर्तनसँग समायोजन गर्नुपर्नेमा जोड दिए। “नेपाली महिलाहरूले सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको तीजको मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरको रूपमा समेत लिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,” सन्देशमा भनिएको छ।
प्रधानमन्त्री प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घ जीवनको कामना पनि गरेका छन्।
