वीरगञ्जमा हैजा नियन्त्रणको प्रयास, अझै २२० जनाको उपचार जारी

वीरगञ्जज भदौ १० । वीरगञ्जमा हैजा र झाडापखलाबाट प्रभावित बिरामीको संख्या उच्च नै देखिएको छ। यद्यपि, उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या पनि क्रमशः बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार, हालसम्म १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन्। तर, झाडापखला र हैजाबाट प्रभावित अझै २२० जना बिरामी विभिन्न अस्पतालहरूमा उपचाररत छन्। शुक्रबारदेखि हालसम्म वीरगञ्जका एक दर्जनभन्दा बढी अस्पतालहरूमा ३९१ जना बिरामी भर्ना भएका थिए।

नारायणी अस्पतालमा सबैभन्दा बढी बिरामी
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जयमोद ठाकुरका अनुसार सबैभन्दा बढी १०६ जना बिरामी नारायणी अस्पतालमा उपचाररत छन्। यसैगरी, तराई अस्पतालमा ३३, नेसनल मेडिकल कलेजमा ३१, वीरगञ्ज हेल्थ केयरमा २०, सर्वोत्तम हस्पिटलमा ९, एडभान्स हस्पिटलमा ६ जना उपचाररत छन्। अन्य अस्पतालहरूमा पनि बिरामी उपचाररत छन्।

नयाँ हैजा संक्रमित थपिँदै
सोमबार दिउँसो ४ बजेदेखि मंगलबार बिहान ११ बजेसम्म मात्रै ९५ नयाँ बिरामीमा हैजाको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल र तराई अस्पतालमा ३२–३२ जना, नेशनल मेडिकल कलेजमा १३ जना, अन्य अस्पतालहरूमा थोरै संख्यामा संक्रमित भेटिएका छन्।

गंभीर अवस्थामा आईसीयू र एचडीसीयूमा राखिएका बिरामी
२४ जना बिरामी आईसीयूमा र ६ जना बिरामी एचडीसीयूमा राखेर उपचार भइरहेको छ। वीरगञ्ज हेल्थ केयर हस्पिटलमा ९, तराई हस्पिटलमा ८, अन्य अस्पतालहरूमा पनि गम्भीर अवस्थाका बिरामीहरू उपचारमा छन्।

संक्रमण रोकथाममा प्रयास जारी
स्वास्थ्य मन्त्रालय र वीरगञ्ज महानगरपालिकाले संक्रमित क्षेत्रहरूमा २६ वटा टोली परिचालन गरेर सफा खानेपानी, सरसफाइ र सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ। स्वास्थ्यमन्त्रीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उपचार अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ