मिथिलाञ्चलमा तिज विशेष, शिव मन्दिरमा महिलाहरूको घुइँचो

जनकपुरधाम भदौ १० । हिन्दु महिलाहरूले प्राचीन कालदेखि श्रद्धाका साथ मनाउँदै आएको हरितालिका तीज पर्व पछिल्लो समय मिथिलाञ्चलमा धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक उत्सवको रूपमा पनि विकसित हुँदै गएको छ। विशेषगरी तराई–मधेसका पहाडी समुदायमा प्रचलित यो पर्व अहिले मधेसी समुदायमा पनि तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ।

पहिला घरभित्र सीमित रूपमा व्रत बस्ने र पूजापाठमा संलग्न हुने चलन रहेको तीज पर्वमा अहिले सार्वजनिक स्थलमा सामूहिक सहभागिता जनाउने महिलाको संख्या बढ्दो छ। यसै क्रममा आज जनकपुरधामस्थित ऐतिहासिक शिव मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरूको उल्लेख्य भीड देखिएको छ। महिलाहरूले रातभर जाग्राम बसेर, भजन–कीर्तन गर्दै शिव–पार्वतीको पूजा आराधना गरे।

एक व्रतालु महिला बताउँछिन्, “भगवान शिवको पूजा गर्दा पति र सन्तानको दीर्घायु हुने विश्वास छ। साथै घरपरिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत बसिरहेका छौं।” विगतमा जातीय–सांस्कृतिक रूपमा सीमित देखिएको यो पर्व अहिले मिथिलाञ्चलमा सामाजिक समावेशीकरणको प्रतिक बन्दै गएको जनसमुदायको धारणा छ। तीजले अहिले सांस्कृतिक परम्परा मात्र होइन, सामाजिक मेलमिलाप र सामूहिकता अभिव्यक्त गर्ने पर्वको रूपमा नयाँ अर्थ पाउँदै गएको छ।

जनकपुरधाम लगायत मधेस प्रदेशका विभिन्न शिवालयहरूमा श्रद्धालु महिलाहरूको सहभागिताले यस पर्वको व्यापकता र प्रभाव झल्काएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ