काठमाडौँ भदौ ९ । भूमि सम्बन्धी कानुन संशोधनको विरोधमा जनता समाजवादी पार्टी ९जसपा०, नेपालले आजदेखि सहर केन्द्रित देशव्यापी आन्दोलन सुरु गरेको छ।
भदौ १५ गतेसम्म जारी रहने आन्दोलनको मूल उद्देश्य भूमि हदबन्दीमा छुट, अव्यवस्थित बसोबासीलाई जग्गा वितरण, र चुरे क्षेत्रको सम्भावित क्षति जस्ता विषयमा सरकारलाई दबाब दिनु रहेको जसपाले जनाएको छ।
जसपा नेपालका नेता दीपक कार्कीका अनुसार आन्दोलनका कार्यक्रमहरू जिल्ला र प्रदेशस्तरमा अघि नै सर्कुलर भइसकेका छन्। उनका अनुसार सरकारले आन्दोलनको माग नटेरे थप कडा आन्दोलनका लागि आफूहरू तयार रहेको स्पष्ट संकेत दिएका छन्। “हामीले सरकारलाई १५ गतेसम्मको समय दिएका छौं,” कार्कीले भने, “यदि त्यो बेलासम्म सुनुवाइ भएन भने सडक र सदन दुवै ठाउँबाट दबाब बढाउनेछौं।”
जसपाले प्रस्तुत विधेयकले चुरे क्षेत्रको संरक्षणमा दीर्घकालीन असर पार्ने भन्दै विधेयक फिर्ता लिनुपर्ने माग गरिरहेको छ। आन्दोलनले राजधानीसहित प्रमुख सहरहरूमा प्रदर्शन, जुलुस र जनसंपर्क अभियानमार्फत सरकारप्रति दबाब सिर्जना गर्ने योजना बनाइएको छ।
