काठमाडौँ भदौ ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र रहेका दलाल, बिचौलिया र पुँजीवादी प्रवृत्तिलाई हटाउने कडा सङ्कल्प व्यक्त गरेका छन्। पार्टीको आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रवृत्ति पार्टीलाई कमजोर पारिरहेको र त्यसलाई अन्त्य गर्नु पर्ने बताए।
प्रचण्डले भने, “शान्ति प्रक्रियापछि कतिपय नेताहरू दलाल र बिचौलिया झैं बन्न पुगेका छन्, जसले पार्टीको समाजवादी यात्रा कमजोर बनाइरहेको छ। अब सबै सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ।” उनले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने मूल आधार उत्पादन संघर्ष नै हुने बताए र त्यसका लागि पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किनुपर्ने धारणा राखे। उनले हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ को नारा अझै कार्यान्वयनमा नआएको स्वीकार गरे।
अध्यक्ष प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय स्रोतमा आधारित आत्मनिर्भर अर्थतन्त्रलाई समाजवादको प्रारम्भिक स्वरूप भनेका छन्। उनले सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी दिशामा अगाडि बढाउनुपर्ने जोड दिएका छन्। सरकारमा हुँदा दलाल, नोकरशाही र बिचौलियाको विरुद्ध शुसासन, सामाजिक न्याय र समृद्धिको लडाइँ लडेको भन्दै उनले भने, “हामी माओवादी केन्द्र त्यस्ता प्रवृत्तिको साथमा रहन सक्दैनौं र अब यसलाई पूर्ण रूपमा हटाउनेछौं।”
यसैबीच, प्रचण्डले सबै पार्टी सदस्यलाई उत्पादन संघर्षमा केन्द्रित भई समाजवादी नेपाल निर्माणमा क्रियाशील हुन आह्वान गरेका छन्।
