अशोक राईको निर्देशनमा जसपाका दुई मन्त्री फिर्ता बोलाइँदै

जनकपुरधाम भदौ ८ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो भने प्रधानमन्त्री कार्यालयलाई पनि औपचारिक जानकारी दिइसकिएको उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए।

पार्टीको निर्णयअनुसार, वर्तमान मन्त्री प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाएर पूर्वमन्त्री डा। वीरेन्द्र महतो र नेतृ रञ्जु झा ठाकुर लाई मन्त्रीमा पठाउने तयारी भएको हो। दुवै मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनेछन्, बस्नेतले बताए, त्यसपछि नयाँ मन्त्रीहरूको सिफारिस गरिनेछ। जसपाले एक वर्षका लागि यादव र साहलाई सरकारमा पठाएको थियो। उनीहरू अब एक वर्षभन्दा बढी समय सरकारमा बसेका छन्। पार्टीभित्रको सहमतिअनुसार मन्त्रीहरूलाई निश्चित अवधिका लागि पठाउने र परिवर्तन गर्ने रणनीति अनुरूप यो निर्णय गरिएको हो।

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर नयाँ जसपा गठन भएको थियो। पार्टी गठनको क्रममा रञ्जु झालाई विना विभागीय मन्त्रीमा सिफारिस गरिएको भए पनि उनले पद नलिएर एक वर्ष पर्खने बताएकी थिइन्। अब भने उनले पूर्ण जिम्मेवारीसहित सरकारमा सहभागी हुने तयारी गरिएको हो। त्यस्तै, डा.वीरेन्द्र महतो यसअघि जसपा नेपालबाट सरकारमा हुँदा वनमन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्।

यस निर्णयलाई जसपाले पार्टीभित्रको दायित्व बाँडफाँड र अनुशासित कार्यकाल व्यवस्थापनको अभ्यासका रूपमा हेरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ